सुर्खेत: कर्णाली प्रदेशमा गठबन्धन दलहरुबिच भभागबण्डा नमिल्दा छलफल लम्बिएको छ ।
भागबण्डा गर्ने विषयमा भएको कर्णाली प्रदेशका सत्ता गठबन्धन दलका नेताहरुबीच शुक्रबार मध्यरातसम्म सहमतिको लागि छलफल गरिएपनि बिना निष्कर्ष नै छलफल टुङ्गियाे ।
प्रदेशका ७९ पालिकामध्ये गठबन्धनमा भएका कुन दलले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा विषेशगरी माओवादी समाजवादी र कांग्रेसबिच कुरा नमिल्दा छलफलको टुंगो लाग्न सकेको छैन् ।
गठबन्धन दलकाबिचमा बिहीबारदेखि सहमतिको प्रयास गरेपनि छलफल निष्कर्षविहिन बनेको छ ।
स्राेतका अनुसार अहिले पनि सहमतिका लागि गठबन्धन दलहरुबिच छलफल चलिरहेको छ । भागबण्डा नमिले एक्ला–एक्लै निर्वाचन लड्नेगरी गठबन्धनदलहरुबिच नै आन्तरिक तयारी समेत चलेको छ।
कांग्रेस, माओवादी र समाजवादीले हरेक स्थानीय तहमा आ–आफ्नो उम्मेदवार छनोट र सिफारिस समेत गरेका छन् ।
भोलिदेखि स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ताको काम सुरू हुन्छ ।
कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दल छन् । कर्णाली प्रदेशमा सत्तारूढ दलहरु भागबण्डामै अल्झिरहेका बेला नेकपा एमालेले भने ७० भन्दा बढी पालिका र वडामा आफ्ना उम्मेदवार टुंगो लगाइसकेको छ ।
तरुण संवाददाता । १० बैशाख २०७९, शनिबार १५:४७