दैलेख – दुल्लू नगरपालिका ६ मा ट्याक्टर दुर्घटना परि घाईते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लू नगरपालिका –६ का ५६ बर्षिय कमारो रावल,सोही ठाउँका चालक कमल शाही हुन् ।
रावलको राती १० बजे र शाहीको १२ बजे उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । मृतक दुई जनालाई दुल्लू अस्पतालमा सामान्य उपचारपछि थप उपचार गर्न एम्बुलेन्स मार्फत सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको थियो ।
गएको आईतबार दुल्लु नगरपालिका–६ धाडा जंगलमा भएको ट्रयाक्टर दुर्घटनामा ५५ बर्षिय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
शोकमा गाउँ
गाउँमा बिद्युत विस्तार हुनेभएपछि पोल लिन गएका गाउँलेहरु कहिल्यै नफर्किने गरि गएपछि गाउँ नै शोकमा डुवेको छ । दुर्घटनामा परि ज्यान गुमाउने तीनै जना र चार जना घाईते सवै एकै गाँउका हुन् ।
ट्रयाक्टरले बोकेको विद्युतको पोल हल्लिएर भे.१ त. ८९६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा एक जनाको घटना स्थलमै ६ जना घाईते अवस्थामा उद्धार गरिएको थियो । घाईते चालक कमल शाही र कमारो रावललाई थप उपचारको लागि सुर्खेत पठाईएको थियो ।
घाइते भएका ४८ वर्षीय दानबहादुर रावल, ६० वर्षीय छबिलाल रावल, ३४ वर्षीय प्रेमबहादुर रावल, ट्रयाक्टर धनी ३१ वर्षीय ललितबहादुर खड्काको दुल्लू अस्पतालमा उपचार चलिरहेको जिल्ला प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिनुभयो ।
तरुण संवाददाता । ३१ बैशाख २०८१, सोमबार १२:४१