“अग्रजलाई सम्मान,नव आगन्तुकलाई प्रोत्साहन” भन्ने मुल नारा सहित दैलेखमा अग्रज कलाकार मोहन गौतमलाई नागरिक अभिनन्दन गरिएको छ । संगीत र साधनामै पुरा जीवन समर्पण गरेका उनलाई दैलेख बजारमा अभिनन्दन गरिएको हो । नेपाली लोक गीत संगितको क्षेत्र सहित सामाजिक जीवनमा पुराएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन तथा आजीवन उपलव्धी पुरस्कार सम्मान २०८० समेत प्रदान गरिएको छ ।
न्यू ज्वाला क्लव दैलेखको आयोजनामा गौतमलाई सम्मान तथा अभिनन्दन गरिएको हो । सम्मान सहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ सहित आजीवन उपलब्धी पुरस्कार समेत प्रदान गरिएको छ । सम्मान पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी भुसालले दैलेखको पहिचानलाई उँचो राख्न गौतमले खेलेको भूमीकाको प्रशंसा गर्नुभएको थियो ।
कला सस्कृतिको सरक्षण र प्रवद्र्धनका लागि स्थापना भएको क्लवले स्थापनाको ३० औँ बर्ष पुरा गर्दै गर्दा बिगत तिन बर्ष देखि गीत संगीतको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । गौतम भन्दा पहिले बाध्यवाधक लक्षुमण नेपाली,कलाकार तथा नृत्यकार दल बहादुर श्रेष्ठलाई यो सम्मान प्रदान गरिसकेको छ । सोहि श्रृङ्खलाको निरन्तरता स्वरुप तेस्रो आजीवन उपलव्धी सम्मानबाट २०८०बाट गौतम सम्मानित हुनुभएको क्लवले जनाएको छ ।
उमेरले ७४ बर्ष पुरा गर्नुभएका गौतमको संगित साधना र समाजसेवाको कुण्डमा तन, मनको हवन गर्दैै बर्षौ विताउनु भएको उहाँको जीवन प्रेरणादायी छ । बि.स २०२४ सालमा भारतको बनारस स्थित हिन्दु विश्वबिद्यालयबाट संगितमा उच्च शिक्षा हासील गरेपश्चात निरन्तर संगित साधनामा हुनुहुन्छ । बि.स. २०५१ सालमा रेडियो नेपालले आयोजना गरेको क्षेत्रीय लोकगित सम्मेलनमा उनको गीत सर्वोत्कृष्ट बनेको थियो । आफ्नै धर्मपत्नी उत्तरादेवी गौतमको शव्द संयोजनमा उहाँले गाएको गीत “के भाउ छ घरवेटी आमा, दाना सुपारीलाई रानी महलैमा” गीत स्रोता माझ अहिले पनि उत्तिकै लोकप्रिय छ ।
उहाँको २०६४ मा यात्रा सांगितिक नामक एकल गिति एल्वम सार्वजनिक रहेको छ । एल्बममा काँधमा कोदाली बोकेर, गैजान्छु गैजान्छु, बनमा बसी नरोए न्याउली, हिमालको काखबाट, नजिकबाट लाज लाग्छ जस्ता गितहरु समेटिएका छन् ।
गौतमले आफुले सिकेको ज्ञान पुस्तान्तरण गर्ने सोच बनाएर २०७३ सालमा पञ्चकोशी ललितकला केन्द्र नामक सस्थाको स्थापना गर्नु भएको छ । हाल स्थानीय निजि विद्यालयमा संगीतमा रुची राख्ने विद्यार्थीहरुलाइ सिकाउदै आउनु भएको छ ।
करिब छ दशक लामो संगीतयात्राको मूल्याङ्कन गर्दै शास्त्रीय संगित समाज काठ्माडौंले २०७६ मा कर्णाली प्रदेशको संयोजकको जिम्मेवारीमा समेत रहनु भएको छ ।
तरुण संवाददाता । २ फाल्गुन २०८०, बुधबार २२:०६