प्रदेश अस्पतालमा आउने बिरामीले रगतका लागि भौतारिनु पर्दैन :मुख्यमन्त्री शाही


सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश अस्पतालमा उपचारका लागि आउने विरामीहरुलाई रगत खोज्दै भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको सहकार्यमा सञ्चालनमा आएको ब्लड बैंकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । ‘रगत अभावमै अस्पताल आएका विरामीहरुले अकालमा ज्यान गुमाइरहेको हामीले सुन्दै आएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘ब्लड बैंकको स्थापनापछि अव रगत नपाएर कसैले पनि मृत्युवरण गर्नुपर्ने छैन् ।’                                                                                                                                            कर्णाली प्रदेश अस्पतालमा मासिक १२० देखि १५० पिन्ट रगत आवश्यक पर्छ ।
मुख्यमन्त्री शाहीले प्रदेश मातहतको कर्णाली प्रदेश अस्पताललाई देशकै उत्कृष्ट र भरपर्दो स्वास्थ्य सेवा प्रवाह गर्ने गौरवको अस्पताल बनाउनेतर्फ सरकारले काम गरिरहेको बताए । ‘यहाँ आउने विरामीहरु राजधानीबाहेक अन्य प्रदेशमा रेफर नगर्ने गरेर नमूना अस्पताल बनाउनेतर्फ सरकारले काम गरिरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसका लागि भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको छ ।’
मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई पाँच सय शैयाको पु¥याउनका लागि आगामी आर्थिक वर्षको सुरुमै अस्पतालको तला थप्ने गरेर एक अर्ब बढीको डेन्टर सुरु गरिने बताए । उनले प्रदेश लोकसेवा आयोगमार्फत नवौं र दशौं तहका चिकित्सक भर्नाको प्रक्रिया पनि सुरु गर्न लागिएको जानकारी दिए ।
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले अस्पताल प्रदेश मातहत आएपछि धेरै कुरामा सुधार भएको बताए । ‘कुनैपनि समस्या ल्याएर अस्पतालमा आउने विरामीहरु त्यसै फर्केर जानु नपर्ने गरेर काम भइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकार मातहत आएको छोटो समयमै अस्पतालले आफ्नो सेवा सुविधा, भौतिक पूर्वाधार, जनशक्ति र उपकरणमा उल्लेख्य फड्को मारेको छ ।’
अस्पताल निर्देशक डा. डम्वर खड्काले अब अस्पतालमा आउने विरामीका आफन्तहरु रगत खोज्दै भौतारिनु नपर्ने बताए । ‘पहाडी तथा हिमाली जिल्लाहरुबाट आउने विरामी र तिनका आफन्तहरुलाई रगत खोज्न धेरै समस्या हुन्थ्यो,’ डा. खड्काले भने, ‘अब बिरामी र आफन्तहरुलाई रगत खोज्न कहीँ जानु पर्दैन्।’ उनले कर्णाली प्रदेश अस्पतालमा आउने बिरामीहरु थप उपचारका लागि बाहिर जान नपर्ने बताए। ‘अधिकांस सेवाहरु हामीले यहीँबाट दिइरहेका छौं, साउनबाट मृर्गौला प्रत्यारोपण सेवा पनि सुरु हुँदैछ,’ उनले भने, ‘कर्णालीको मात्रै नभएर देशकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउँछौं ।’