सुर्खेत: कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धन दलबीच सहमति हुन सकेको छैन । वार्ता र छलफलका लागि जिल्ला तथा प्रदेशमा रहेका गठबन्धनका शिर्ष नेतृत्वहरुले चलाएको पटक–पटको छलफलबाट निष्कर्ष आउन सकेको छैन् ।
यदपी सत्तारुढ गठबन्धनभित्रैका दलहरुले आ–आफ्नो पार्टीभित्रकै उम्मेदवारहरु छनोट गर्न थालेका छन् । नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगरको मेयरकाे नेतृत्व टुङ्ग्याएको छ ।
समाजवादीबाट सात जना सिफारिस
नेकपा समाजवादीले पनि वीरेन्द्रनगरको नेतृत्वका लागि ७ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
समाजवादीले मेयरमा खगेन्द्र प्रसाद पोखरेल, सुरेन्द्र बिसी, धना जिसीलाई सिफारिस गरेको छ । यस्तै उपमेयरमा मनिष गहतराज, बिर बहादुर भोटे, राम कुमार दर्लामी र नन्दा रेग्मीलाई प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
कांग्रेसमा लफाडा
सत्तारुढ गठबन्धनभित्रकै ठुलो दल नेपाली कांग्रेसले भने अहिलेसमम उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
पार्टीभित्र उम्मेदवारका लागि धेरै आकांक्षीहरु हुँदा कांग्रेसलाई उम्मेदवार छनोटमा सकस देखिएको हो ।
कांग्रेसमा उम्मेदवार छनोट मात्रै होइन संस्थापन इतर समुह (शेखर कोइराला) समुहले आफ्नो टीमलाई ४० प्रतिशत भाग नदिए निर्वाचनमा नजाने चेतावनी समेत दिएको छ ।
स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि कांग्रेसले सुर्खेतका कतिपय स्थानहरुमा आन्तरिक निर्वाचन समेत गरेको छ ।
वीरेन्द्रनगरको मेयर सिफारिस भएका इतर समुहका नेता
नारायण कोइराला र भुपेन्द्र केसीले समेत सिफारिस फिर्ता लिएका छन् ।
स्रोतका अनुसार उनीहरुले मेयरमा आकांक्षा देखाएर नाम सिफारिस गरेपनि समुहको माथिल्लो नेतृत्वबाट दबाब आउँदा उनीहरुले आफ्नो नाम फिर्ता लिएका हुन् ।
‘उहाँहरु दुबै जनाले पहिला मेयरमा आकांक्षा देखाएपछि नगर कार्यसमितिबाट सिफारिस गयो । पछि हाम्रो समुहले वडादेखि गाउँ–नगरसम्म ४० प्रतिशत नपाए चुनावमा सहभागी नहुने निर्देशन आएपछि उहाँहरुले आफ्नो नाम फिर्ता लिनुभएको हो,’नाम नबताउने सर्तमा इतर समुहका एक नेताले भने ।
ती नेताका अनुसार उनीहरूले कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं. २ लाई लिखित निवेदन दिएर नै उम्मेद्वारी फिर्ता लिएका छन् ।
सुर्खेत जिल्लाभर रहेका वडातहदेखि पालिकासम्म संस्थापनइतर समुहलाई सम्मानजनक ४० प्रतिसत उम्मेद्वारी नहुँदासम्म आफुहरुको एकल उम्मेदवारीको अर्थ नहुने भन्दै कोइराला र केसीले उम्मेद्वारी फिर्ता लिएको निवेदन मार्फत उल्लेख गरेका छन् ।
शुक्रबार वीरेन्द्रनगर नगर कार्य समितिले सभापति उपेन्द्र खड्का सहित हरि विष्ट र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । नगर कार्यसमितिले तीन जनाको मात्रै नाम सिफारिस गरेपछि प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमितिले रायसहित गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थपेको थियो ।
एमालेबाट ढकाल र खनाल
नेकपा (एमाले)ले वीरेन्द्रनगर नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले मेयरमा मोहनमाया ढकाल र उप–मेयरमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको हो ।
एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले नगरको मेयरमा ढकाल र उप–मेयरमा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, ढकाल हालको वीरेन्द्रनगर नगरपालिकाको उप–मेयर हुन् भने उप–मेयरका उम्मेदवार खनाल वीरेन्द्रनगर वडा नम्बर ४ का अध्यक्ष समेत हुन् ।
नेकपा एमालेको वीरेन्द्रनगर नगरप्रमुख बन्नका लागि एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल, एमाले नेता हरिहरनाथ योगी लगायतको पनि दाबी गरेका थिए ।
माओवादीबाट गिरी
नेकपा माओवादी केन्द्रले पनि वीरेन्द्रनगरको मेयरको उम्मेदवार टुंगो लगाएको छ ।
शनिवार नेकपा माओवादी केन्द्र सुर्खेतले वीरेन्द्रनगर नगरप्रमुखका लागि राजेन्द्र गिरीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।
गठबन्धनमा सहमति जुट्ने सम्भावना नभएपछि माओवादीले एक्लै चुनावमा भिड्ने निर्णय गरेको हो । यद्यपि उपप्रमुखका लागि भने हरिमाया शर्मा, रत्न गाहा मगर, शान्ति ढकाल र गीता तिमिल्सेनाले दाबी गरेका छन् । माओवादीले नगरप्रमुख सहित अन्य उम्मेदवारको टुंगो लगाउन प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
तरुण संवाददाता । १० बैशाख २०७९, शनिबार २३:०९